नेपाल अधिराज्य वा गोरखा अधिराज्य वा असल हिन्दुस्तान, दक्षिण एसियाको एक हिन्दू राज्य थियो, जसको गठन वि.सं १८२४ मा नेपालको एकीकरणद्वारा भएको थियो। खस ठकुरी राजपुत मूलको भएको दाबी गर्ने गोरखाका राजा पृथ्वीनारायण शाहद्वारा स्थापित यो वि.सं २०६३ मा नेपाली राजतन्त्रको उन्मूलन नभएसम्म २४० वर्षसम्म अस्तित्वमा रहेको थियो। यस अवधिमा नेपाल औपचारिक रूपमा शाह वंशको शासनको अधीनमा रहेको थियो।
वि.सं १८४८ मा राजकुमार बहादुर शाहको नेतृत्वमा नेपाली सेनाले तिब्बतमाथि आक्रमण गर्दै दिगार्चामा लुटपाट गगरेको थियो। त्यस पश्चात् दलाई लामा र चिनियाँ उच्च अधिकारीले सैन्य सहयोगका लागि चिनियाँ प्रशासनलाई खबर गरेका थिए। फुकाङगानको नेतृत्वमा चिनियाँ र तिब्बती सेनाले नेपालमाथि आक्रमण गरे पनि नुवाकोटमा असफल भएका थिए र वार्तामा गएका थिए। चार काजीहरूमध्ये सबैभन्दा प्रभावशाली रहेका मुलकाजी दामोदर पाँडेलाई बहादुर शाहलाई हटाएर नियुक्त गरिएको थियो। मुलकाजी कीर्तिमान सिंह बस्न्यातले राजा गीर्वाणयुद्ध विक्रम शाहको रक्षा गर्न र पूर्वराजा रणबहादुर शाहलाई नेपालबाट टाढा राख्न प्रयास गरेका थिए। १८६० फागुन २४ का दिन पूर्वराजा फर्केर मुख्तियार (प्रधानमन्त्री) बनेका थिए र दामोदर पाँडेलाई थानकोटमा मृत्युदण्ड दिइएको थियो। वि.सं १८६२ मा रणबहादुर शाहको मृत्युपछि भएको भण्डारखाल पर्वले आधिकारिक मुख्तियार भीमसेन थापाको उदयलाई अगाडि बढाएको थियो जो सन् १८६२ देखि १९९२३ सम्म नेपालको वास्तविक शासक बनेका थिए। तथापि, उन्नाइसौँ शताब्दीको सुरुतिर भारतमा इस्ट इन्डिया कम्पनीको शासनको विस्तारले नेपाल अङ्ग्रेज युद्ध (१८७१ कात्तिक १८- १८७२ फागुन २४) निम्त्याएको थियो जसको परिणामस्वरूप नेपालको पराजित भएको थियो। सुगौली सन्धि अन्तर्गत राज्यले आफ्नो आन्तरिक स्वतन्त्रता कायम राखेको थियो, तर नेपालले आफ्ना भूभागहरू गुमाउन पुगेको थियो। मेची र महाकाली नदीलाई नेपाली भूभागको सीमाको रूपमा चिह्नित गरिएको थियो। सुगौली सन्धि अघिको राज्यको भूभागलाई कहिलेकाहीँ विशाल नेपाल पनि भन्ने गरिन्छ। राजनीतिक परिदृष्यमा मुख्तियार माथवरसिंह थापाको मृत्युले थापा आधिपत्यको अन्त्य गरी कोत पर्वको लागि पृष्ठभूमि खडा गरेको थियो। यसको परिणामस्वरूप खस (क्षेत्री) राणा वंशको उत्थान भएको थियो र १८९९ देखि २००७ सम्म अर्को शताब्दीका लागि नेपालको प्रधानमन्त्रीको पदलाई राणाहरूको परिवारमा वंशाणुगत बनाएको थियो। पहिलो राणा शासक जङ्गबहादुर राणाद्वारा राणा वंशको सुरुवात भएको थियो जसले राजालाई पनि नियन्त्रणमा लिएको थियो। राणा शासनमा निरंकुशता, आर्थिक शोषण र धार्मिक उत्पीडन रहेको मानिन्छ।
२००६ मा, नयाँ स्वतन्त्र गणतन्त्र भारतले एक मैत्री सन्धिमा हस्ताक्षर गरेको थियो जसमा दुवै राष्ट्र एक अर्काको सार्वभौमिकताको सम्मान गर्न सहमत भएका थिए। सोही वर्ष, भारतले राजा त्रिभुवनलाई समर्थन गर्न महत्त्वपूर्ण भूमिका खेलेको थियो जसलाई राणा प्रधानमन्त्री मोहन शमशेर जङ्गबहादुर राणालाई पदच्युत गर्न मद्दत गरेको थियो। सात सालको क्रान्तिले राणा शासनको अन्त्य गरेको थियो जसलाई राजा त्रिभुवनको समर्थन रहेको थियो।
राणा शासनको उन्मूलन पश्चात् सुधार लागू गर्न र संविधान पारित गर्न असफल प्रयासहरू भएका थिए। राजा त्रिभुवनको निधन भएसँगै नेपालको राजा बनेका महेन्द्रले २०१५ सालमा निर्वाचित संसद भङ्ग गर्दै २०१७ साल पुस १ गते निर्दलीय पञ्चायती व्यवस्था लागू गरेका थिए। २०२८ सालमा राजा महेन्द्रको निधन भएसँगै वीरेन्द्र नेपालको राजा बनेका थिए। पञ्चायती व्यवस्था २०४६ सालको आन्दोलनको माध्यमबाट उन्मूलन भएको थियो र नेपाल संवैधानिक राजतन्त्र मुलुक बनेको थियो। त्यसपछि, २०५२ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा जनयुद्ध आरम्भ भएको थियो र यो जनयुद्ध २०६२ सम्म १० वर्ष चलेको थियो। सोही अवधिमा २०५८ सालमा जेठ १९ गते, राजा वीरेन्द्रको वंश नाश हुने गरि दरबार हत्याकाण्ड भएको थियो जसले नेपाली राजतन्त्रको अवस्थालाई थप अस्थिर बनाएको थियो।
दरबार हत्याकाण्डको फलस्वरूप राजा ज्ञानेन्द्र सिंहासनमा फर्किएका थिए। २०६२ मा उनको प्रत्यक्ष शासनले माओवादी विद्रोह र प्रजातन्त्र पक्षधर कार्यकर्ताहरूलाई एकताबद्ध गर्ने विरोध आन्दोलनलाई उक्साएको थियो। अन्ततः उनी प्रतिनिधि सभाको पुनस्र्थापना गर्न बाध्य भएका थिए र नेपालमा राजतन्त्र उन्मूलन भएको थियो। त्यस पश्चात्र अन्तरिम संविधान पारित भएको थियो। अर्को वर्ष अर्थात् २०६४ पहिलो संविधानसभा निर्वाचन सम्पन्न भएको थियो। २०६५ जेठ १५ मा, लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गरिएको थियो।
राजतन्त्रको उन्मूलन हुनु अघिसम्म नेपाल विश्वकै एक मात्र देश थियो, जहाँ हिन्दू धर्मलाई आफ्नो राजकीय धर्मका रूपमा राखिएको थियो। गणतन्त्र बनेदेखि नै यो देश औपचारिक रूपमा धर्मनिरपेक्ष राष्ट्र बनेको छ।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q1078602
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९९/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “नेपाल अधिराज्य।” नेपाली विश्वकोश, ६ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). नेपाल अधिराज्य. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF
@misc{ne_412,
title = {नेपाल अधिराज्य},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2_%E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF}},
year = {2026},
note = {Accessed 2026-11-12}
}
