नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

सुशीला कार्की

सुशीला कार्की (जन्म:२००९ जेठ २५) नेपालकी पूर्वप्रधानमन्त्री तथा सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश हुन्। उनी नेपालको प्रथम महिला प्रधानन्यायाधीश र नेपालको पहिलो महिला प्रधानमन्त्री पनि हुन्। प्रधानमन्त्री खड्गप्रसाद ओलीको अध्यक्षताको संवैधानिक परिषद्ले नेपालको सर्वोच्च अदालतले प्रधानन्यायाधीश पदको लागि उनको नाम सिफारिस गरेको थियो। कार्की न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताको लागि परिचित छिन्। उनी २०७३ असाढ २७ देखि २०७४ जेठ २४ सम्म नेपालको प्रधानन्यायाधीश थिइन्।

अद्यावधिक: १० नोभेम्बर २०२६ ६३७ शब्द · ४ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

सुशीला कार्की (जन्म:२००९ जेठ २५) नेपालकी पूर्वप्रधानमन्त्री तथा सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश हुन्। उनी नेपालको प्रथम महिला प्रधानन्यायाधीश र नेपालको पहिलो महिला प्रधानमन्त्री पनि हुन्। प्रधानमन्त्री खड्गप्रसाद ओलीको अध्यक्षताको संवैधानिक परिषद्ले नेपालको सर्वोच्च अदालतले प्रधानन्यायाधीश पदको लागि उनको नाम सिफारिस गरेको थियो। कार्की न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताको लागि परिचित छिन्। उनी २०७३ असाढ २७ देखि २०७४ जेठ २४ सम्म नेपालको प्रधानन्यायाधीश थिइन्।

भदौ २०८२ मा भएको सरकार विरोधी जेन जी आन्दोलन चर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए जसको परिणाम स्वरूप प्रतिनिधि सभा विघटन गर्ने र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई २६ भदौ २०८२ मा सरकार प्रमुख बनाउने गरी सहमति जुटेको थियो र उनले सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेकी थिइन्।

न्यायधीशको रूपमा

उनको व्यावसायिक जीवन भने शिक्षण पेशाबाट सुरु भएको थियो। उनले २०४२ देखि २०४६ सालसम्म महेन्द्र बहुमुखी क्याम्पस, धरानमा प्राध्यापन गरेकी थिइन्। उनी विराटनगरस्थित पुनरावेदन अदालतको बार अध्यक्षसमेत थिइन्। २०३५ सालबाट वकालत सुरु गरेकी उनी सन् २०६५ मा सर्वोच्च अदालतमा न्यायाधीशको रूपमा प्रवेश गरेकी थिइन्। सर्वोच्च अदालतको प्रधान न्यायाधीश नियुक्ति हुनुपूर्व कार्की सर्वोच्च अदालतकै वरिष्ठ न्यायाधीश बनेकी थिइन्। २०६५ माघ ९ मा सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भएकी उनी २०६७ मङ्सिर २ मा स्थायी न्यायधीश बनेकी थिइन्। प्रधानन्यायाधीशको रुुपमा सपथ २०७३ असार २७ मा लिएकी थिइन्। उनले न्यायाधीश हुँदा थुप्रै चर्चित मुद्दाहरूमा फैसला गरेकी थिइन्।

उल्लेखनीय फैसलाहरू

  • ओमभक्त राणा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग/नेपाल सरकार (सुडान शान्ति सेना भ्रष्टाचार)
  • नेपाल ट्रस्टको कार्यालय विरुद्ध प्रेरणा राज्यलक्ष्मी राणा (पूर्व राजकुमारीको सम्पत्ति)
  • पृथ्वीबहादुर पाण्डे विरुद्ध काठमाडौँ जिल्ला अदालत (अस्ट्रेलियामा पोलिमर बैङ्क नोटको छपाईमा भएको भ्रष्टाचार)
  • काठमाडौँ तराई द्रुतमार्ग प्रकरण
  • सरोगेसी सम्बन्धि मुद्दा
  • जयप्रकाश गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमान सिंह कार्की को नियुक्ति उल्ट्याउने
  • जयबहादुर चन्दलाई नेपाल प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णय बदर
  • माओवादी जनयुद्धको मैना सुनारको बलात्कारपछि हत्या भएको मुद्दा संलग्न सैनिक अधिकृतहरुलाई जन्मकैदको फैसला

असफल महाभियोग

प्रधानन्यायाधीश रहेकै बेला सुशीला कार्की विरुद्ध तत्कालीन सत्ता गठबन्धनका सांसदहरूले अधिकार क्षेत्रमा हस्तक्षेप गरेको र कार्यसम्पादन क्षमता नभएको आदि कारण देखाउँदै महाभियोगको प्रस्ताव दर्ता गरेका थिए, जुन असफल भएको थियो। कार्की विरुद्ध १७ वैशाख २०७४ मा सत्तारूढ गठबन्धनका प्रमुख दल नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)का २४९ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता भएको थियो। तुरुन्तै कार्कीलाई निलम्बित भएको पत्र पनि दिइएको थियो। नेकपा (एमाले) लगायत प्रतिपक्षी दलहरूको अवरोधका कारण संसद् बैठकमा यो विषयले सहज प्रवेश पाउन भने सकेको थिएन। २२ वैशाखमा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासले अन्तरिम आदेश जारी गर्दै उक्त प्रस्तावलाई निष्प्रभावी बनाएका थिए र कार्की पुन: सर्वोच्च अदालत फर्किएकी थिइन्।

सर्वोच्च अदालतबाट विदा

प्रधानन्यायाधीश सुशीला कार्की आफ्नो कार्यकाल सकिनु एक दिनअघि २०७४ जेठ २३ मा सर्वोच्च अदालतबाट बिदा भएकी थिइन्। उनको कार्यकाल बुधबार (जेठ २४ गते) सकिएको थियो।

साहित्यमा

कार्कीले दुई पुस्तकहरू प्रकाशित गरिसकेकी छिन्। उनको पहिलो आत्मकथात्मक पुस्तक न्याय २०७५ असोज १२ मा प्रकाशित भएको थियो र उनको दोस्रो पुस्तक, उपन्यास कारा, मङ्सिर २०७६ मा प्रकाशित भएको थियो।

प्रधानमन्त्री

२०८२ को जेनजी आन्दोलन पछि, प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएका थिए जसले नयाँ सरकारको माग सिर्जना गरेको थियो। ३ दिनको छलफल र रस्साकस्सी पछि,२o८२ भदौ २७ शुक्रबार संविधानको धारा–६१ अनुसार सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा चयन गरिएको थियो, जसले गर्दा उनी नेपालको इतिहासमा यस पदमा रहने पहिलो महिला प्रधानमन्त्री बन्न पुगेकी थिइन्। उनकै सिफारिसमा प्रतिनिधि सभा विघटन भएको थियो र उक्त सरकारले ६ महिना भित्र प्रतिनिधि सभाको निर्वाचन गर्ने गरि सहमति भएको थियो। उनी नेपालको संविधान २०७२को धारा ६१ को उपधारा ४ बमोजिम चुनाबी सरकारको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेकी थिइन्।

सन्दर्भ सामग्रीहरू

‍‍

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q23842116
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८२/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “सुशीला कार्की।” नेपाली विश्वकोश, १० नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B8%E0%A5%81%E0%A4%B6%E0%A5%80%E0%A4%B2%E0%A4%BE_%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%95%E0%A5%80। हेरिएको: १२ नोभेम्बर २०२६।