ऐश्वर्य राज्यलक्ष्मी देवी शाह (२००६ असोज २१ – २०५८ जेठ १९) वि.सं २०२८ देखि २०५८ मा भएको हत्या नभएसम्म नेपालकी महारानी थिइन्। उनले राजा वीरेन्द्रको महारानीका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै र जीवनभर राजपरिवारमा एक प्रमुख व्यक्तित्वका रूपमा रहेकी थिइन्।
रानी ऐश्वर्यलाई धेरै नेपालीहरूले आफ्नो दृढ उपस्थितिका लागि परिचित एक प्रभावशाली व्यक्तित्वका रूपमा लिन्छन्। वि.सं २०४६ पूर्वको राजतन्त्रको युगमा, उनलाई प्रायः दरबार पछाडिको मुख्य प्रभावशाली शक्तिका रूपमा हेरिन्थ्यो। उनको पहिरन र शैलीको प्रभाव धेरैका लागि सांस्कृतिक आदर्श बनेको थियो।
शासनव्यवस्थामा राजा वीरेन्द्रमाथि निकै हस्तक्षेप र दबाब दिनेमा रानी ऐश्वर्यको आलोचना हुने गरेको छ। राज महेन्द्र हुँदा रानी रत्नले राजपरिवारको घरायसी मामिला सम्हाल्ने र राजकाजको काम राजाले सम्हाल्ने अभ्यास भएपनि रानी ऐश्वर्यले वीरेन्द्रको शासनकालमा शक्ति सञ्चालनको प्रयस गरिन्। रानी भएपछि उनको स्वभावमा एकाएक परिवर्तन आयो। सचिव, सरकारी संस्थानका प्रमुख, राजदूत नियुक्तिमा उनको प्रत्यक्ष हस्तक्षेप हुन्थ्यो। अधिराजकुमार धीरेन्द्रलाई राजपरिवारबाट निष्कासन गर्ने, युवराज दीपेन्द्रको विवाह कुरालाई अन्य राजपरिवार सदस्य भन्दा उनको फरक मत थियो। रानी ऐश्वर्य राजा वीरेन्द्रभन्दा बढी कडा स्वभावकी र पर्दा पछाडिबाट शासन चलाउने शक्तिशाली पात्र र पञ्चायतकालीन शक्ति केन्द्रका रूपमा हेरिन्थ्यो। दरबार र पञ्चायती व्यवस्थाभित्र हुने थुप्रै राजनीतिक तथा आर्थिक निर्णयहरूमा उनको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव रहने गरेको चर्चा हुन्थ्यो। जनमानसमा र राजनीतिक विश्लेषणहरूमा रानी ऐश्वर्य शाहलाई लक्षित गरेर 'पम्फादेवी' शब्द प्रयोग गरिएको थियो।
शिक्षा
उनले भारतको खरसाङ स्थित सेन्ट हेलेन्स कन्भेन्ट र नेपालको जावलाखेल स्थित सेन्ट म्यारी स्कुलबाट विद्यालय स्तरीय शिक्षा प्राप्त गरेकी थिइन्। उनले सन् १९६३ मा कान्ति ईश्वरी राज्यलक्ष्मी हाईस्कुलबाट एस.एल.सी. उत्तीर्ण गरेकी थिइन्। त्यसपछि उनी त्रिभुवन विश्वविद्यालय सम्बद्ध पद्मकन्या बहुमुखी क्याम्पसमा भर्ना भई सन् १९६७ मा मानविकी सङ्कायमा स्नातक गरेकी थिइन्।
नेपालकी रानी
वि.सं २०२८ मा राजा महेन्द्रको निधनपछि वीरेन्द्र गद्दीमा बसेसँगै, ऐश्वर्य रानी बनेकी थिइन् भने राज्याभिषेक वि.सं २०३२ मा सम्पन्न भएको थियो। आफ्नो शासनकालमा राजा वीरेन्द्र सहित उनले वैदेशिक भ्रमण गरेका थिए भने विश्वभरका कैयौँ शाही महानुभावहरूलाई स्वागत-सत्कार गरेका थिए।
रानी ऐश्वर्य आफ्नो बुद्धिमत्ता, वाकपटुता र सामाजिक तथा सांस्कृतिक गतिविधिहरूमा सक्रिय सहभागिताका लागि परिचित थिइन्। उनले विभिन्न सांस्कृतिक तथा परोपकारी कार्यक्रमहरूको आयोजना गरिन् र राजा वीरेन्द्रको शासनकालभरि उनलाई सहयोग पुर्याउन महत्त्वपूर्ण भूमिका खेलिन्।

सन् १९७० र १९८० को दशकमा नेपालले बढ्दो राजनीतिक तनाव र राजतन्त्रविरोधी समूहहरूको आन्दोलनको सामना गरिरहँदा महारानी ऐश्वर्य विभिन्न अफवाहहरूको केन्द्रमा रहिन्। उनको प्रभावशाली उपस्थिति र पकडलाई कतिपयले राजा वीरेन्द्रमाथि हाबी भएको रूपमा समेत अर्थ्याएका थिए। स्पष्टवक्ता र अडान राख्ने स्वाभावका कारण उनको तुलना प्रायः शान्त र कम बोल्ने स्वभावका उनका पतिसँग गरिने गरिन्थ्यो। राजतन्त्रको अवधिमा उनलाई दरबारभित्रको एक प्रमुख प्रभावशाली व्यक्तित्वका रूपमा हेरिन्थ्यो र कसै-कसैले उनले निरङ्कुश शासन कायम राख्ने पक्षमा वकालत गरेको मान्थे। यद्यपि, २०४६ मा राजा वीरेन्द्रले अन्ततः आफ्ना निरङ्कुश अधिकारहरू त्याग्दै नेपाललाई संवैधानिक राजतन्त्रमा लैजान सहमति जनाएका थिए।
रानी ऐश्वर्यको प्रभावको सीमा कति थियो भन्ने विषय बहसमै रहे पनि समयक्रमसँगै उनीप्रतिको धारणामा परिवर्तन आएको थियो। कुनै समय एक प्रभावशाली वा दबदबा भएकी व्यक्तित्वका रूपमा हेरिएकी ऐश्वर्यलाई पछि भने राजा वीरेन्द्रकी एक निष्ठावान् जीवनसङ्गिनीका रूपमा वर्णन गरिएको थियो, जसको लोकप्रियता र उचाइ राजाको शासनकालभरि नै बढ्दै गएको थियो।
हत्या
२०५८ जेठ १९ मा दरबार हत्याकाण्डमा रानी ऐश्वर्य, उनका पति राजा वीरेन्द्र; उनका छोरा राजकुमार निराजन; उनकी छोरी अधिराजकुमारी श्रुति; र सात अन्य राजपरिवारका सदस्यहरूको गोली हानी हत्या गरिएको थियो।
साहित्य
उनी आफ्ना साहित्यिक कृतिहरू र सङ्गीतमा सहभागिताका लागि पनि परिचित छिन्। उनको साहित्यिक नाम चाँदनी शाह हो र सोही नामबाट उनले थुप्रै गीतहरू लेखेकी थिइन्।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q1134162
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ९०/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “रानी ऐश्वर्य राज्यलक्ष्मी शाह।” नेपाली विश्वकोश, १९ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%BE%E0%A4%A8%E0%A5%80_%E0%A4%90%E0%A4%B6%E0%A5%8D%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%AF_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A4%B2%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%8D%E0%A4%AE%E0%A5%80_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). रानी ऐश्वर्य राज्यलक्ष्मी शाह. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%BE%E0%A4%A8%E0%A5%80_%E0%A4%90%E0%A4%B6%E0%A5%8D%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%AF_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A4%B2%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%8D%E0%A4%AE%E0%A5%80_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9
@misc{ne_634,
title = {रानी ऐश्वर्य राज्यलक्ष्मी शाह},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%BE%E0%A4%A8%E0%A5%80_%E0%A4%90%E0%A4%B6%E0%A5%8D%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%AF_%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A4%B2%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%8D%E0%A4%AE%E0%A5%80_%E0%A4%B6%E0%A4%BE%E0%A4%B9}},
year = {2026},
note = {Accessed 2026-11-12}
}