नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
जीवनी

रणोद्दीपसिंह कुँवर

रणोद्दिप सिंह बहादुर कुँवर राणा वा रणोद्दिप सिंह कुँवर (१९३३-१९४२)

अद्यावधिक: २६ सेप्टेम्बर २०२६ ६१२ शब्द · ३ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

रणोद्दिप सिंह बहादुर कुँवर राणा वा रणोद्दिप सिंह कुँवर (१९३३-१९४२) राणा शासनका दोस्रो श्री ३ महाराजको रूपमा रणोद्धिप सिंह नेपालको प्रधानमन्त्री बनेका थिए। दाजु जङ्गबहादुर राणाको निधन पश्चात् जङ्गबहादुरले नै राखिदिएको थिति अनुसार यिनी श्री ३ को पदमा विराजमान भए।

भतिजाहरू (दाजु जङ्गबहादुर र भाइ धीरशमशेरका छोरा) बीच चर्किएको शक्ति संघर्षका कारण असुरक्षित महसुस गर्दै रणोद्दीपले 'बिजुली गारत' नाममा विशेष फौज निर्माण गरेका थिए। तर पछि यिनी आफ्नै भतिजाहरू (धीरशमशेरका छोराहरू) बाट षड्यन्त्रपूर्वक मारिए। यिनीपछि यिनका भतिजा वीर शमशेर जङ्गबहादुर राणा नेपालका प्रधानमन्त्री बने।

रणोद्दिपसिंहको जन्म पिता काजी बालनरसिंह कुँवरको सातौँ पुत्र र माता गणेश कुमारीको पाचौँ पुत्रको रूपमा भयो। उनी निःसन्तान रहेकाले भतिजा ध्वज नरसिंह राणा लाई धर्मपुत्र बनाएका थिए। उनी अत्यन्त धार्मिक व्यक्ति थिए। उनको हत्या आफ्नै भतिजाहरूद्वारा वि.सं. १९४२ मा भयो।

सैन्य वृत्ती

उनले तेश्रो नेपाल तिब्बत युद्ध (सन् १९५५-५६) र भारतमा सन् १८५७ मा घटेको सिपाही बिद्रोहमा नेपाली सेनाको नेतृत्व गरेका थिए।

टुँडिखेलमा रहेको श्री ३ रणोद्दिपको घोडचढी शालिकसन् १८५७ मा गदरको युद्धमा देखाएको वीरताको स्मरणमा बनाइएको सालिक
टुँडिखेलमा रहेको श्री ३ रणोद्दिपको घोडचढी शालिकसन् १८५७ मा गदरको युद्धमा देखाएको वीरताको स्मरणमा बनाइएको सालिक

श्री ३ महाराज तथा प्राइममिनिस्टर

वि.सं. १९३३ मा पत्थरघट्टामा श्री ३ तथा प्रधानमन्त्री जङ्गबहादुरको मृत्यु भएपछि; धीर शमशेरको चातुर्यताले रणोद्दिप सिंहले श्री ३ महाराज तथा प्राइममिनिस्टर दुवै पद हासिल गरे। रणोद्दिप सिंहलाई दुवै पद दिलाउन धीर शमशेरले सो समाचार सार्वजनिक हुन दिएनन्। उनले जङ्गबहादुर सिकिस्त बिरामी रहेको भन्दै युवराज, जंग पुत्र जगतजंगलाई पत्थरघट्टा पठाए।

श्री ३ रणोद्दीप निश्शङ्क, विश्वास गर्ने उनको बानी र आफू श्री ३ हुन पाएकोमा धीरशमशेर सँग र आफ्नो खानदान बढाइदिने दाजु जङ्गबहादुर सँग ज्यादै अनुगृहीत थिए। उनी सुधारवादी नहुँदा त्यस्ता उल्लेखनीय काम हुन सकेन। बरु जङ्गबहादुरले थापाथलीमा खोलेको दरबार अङ्ग्रेजी स्कुललाई रानीपोखरीको पश्चिम तर्फ गाईगोठमा स्थानान्तरण गर्ने काम उनले गरे। उनी अदूरदर्शी र राजनीतिक धूर्तताबाट बिलकुल टाढा तथा योग्य-अयोग्यताको पहिचान गर्न नजान्ने राजनीतिक चक्रव्यूहमा परेका मन्द राजनीतिक खेलाडी थिए।

कार्यहरू

  • रणोद्दीप सिंहले बिजुली गारतको गठन गरेका थिए।
  • नेपालमा चिठीपत्र मार्फत खबर, सूचना र समाचार आदान-प्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोद्दीप सिंहको पालामा विक्रम सम्वत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ।
  • यिनले मुलुकी अड्डाको सुधार गरे । यस अड्डालाई प्रधान सेनापतिको मातहतमा राखे । यो अड्डाले गृह मन्त्रालयको कार्य गर्दथ्यो, कानून-विषयको व्यवस्था मिलाउँदथ्यो, साथै पहाड र मदेशतर्फको पनि गृहसम्बन्धी सबै कार्यं गर्दथ्यो |
  • यिनले कुमारीचोक अड्डामा पनि हेरफेर गरी त्यसको सुधार कार्य गरे ।

३८ सालको पर्व

मुख्य लेख : ३८ सालको पर्व

वि.सं. १९३८ मा प्रधानमन्त्री रणोद्दीप सिंह सिकारको लागि तराई गएको बेलामा (कतै कतै भारतमा तिर्थ गर्न गएको बेलामा उल्लेख छ), नरेन्द्र बिक्रम शाह (राजा सुरेन्द्रका पुत्र)ले प्रधानमन्त्री रणोद्दीप सिंह, प्रधान सेनापति धीर शमशेर र उनका शाखा सन्तान सखाप बनाउने षड्यन्त्र बनाए। तर यस षड्यन्त्रको पोल चाडै खोलिएकाले नरेन्द्र बिक्रम शाह, जगतजंग राणा, बमवीर सिंहलाई इलाहावादको चुनारगढ किल्लामा नजरबन्द गरिएको थियो।

हत्या

प्रधानमन्त्री रणोद्दीप सिंहले राजपाट भतिजा जगतजंगलाई सुम्पेर आफू सन्यासी बन्ने सोच बनाएका थिए। तर रोलक्रमबाट हटाइएका राज्यको बागी जगतजंगलाई उत्तराधिकारी बनाउदा बिद्रोह हुन सक्ने डर पनि उनको मनमा थियो।

४२ सालको पर्व

मुख्य लेख : ४२ सालको पर्व

वि.सं. १९४२ (२२ नोभेम्बर १८८४) रात वीर शमशेर, खड्ग शमशेर, चन्द्र शमशेर र भीम शमशेर सैन्य परेडको लागि हतियार देखाउने जरुरी काम रहेकाले भेट्नु पर्ने भनेर प्रधानमन्त्री निवास नारायणहिटी प्रवेश गरे। ठिक ९:३० बजे गोडामा तेल लगाएर घोप्टिएर पिपलको पातमा रामनाम लेखिरहेको अवस्थामा धीरसमशेरका चारभाइ छोराहरु डम्बर, खड्ग, भीम र चन्द्रले 'पेटिकोट मुन्तिरबाट शासन गर्नेको यस्तै हुन्छ' भनि रणोद्वीप सिंहको टाउकोमा गोली प्रहार गरेका थिए। 'मार्यो पापीले' भन्दै रणोद्वीप सिंह पीपलपत्रमा घोप्टिन पुगे। त्यसपछि भीमसमशेरले यिनको तिघ्रामा गोली हने। धीरसमशेरका छोराहरुले रगतले मुछिएको यिनको शरीरलाई घिसार्दै भर्‍याङबाट निर्ममतापुर्वक तल खसाले। भोलिपल्ट सुब्बा चन्द्रकान्त नामक एक ब्राह्मणद्वारा अति सामान्य ढंगबाट यिनको दाहसंस्कार गराइयो। दाहसंस्कारमा ५० पैसा खर्च भएको थियो। वीर शमशेरले आफूसँग रहेका सैनिकहरूको साथमा फाइदा उठाई काका रणोद्दीप सिंहको हत्या गरे। जङ्गबहादुरको छोरा जगतजङ्ग राणा र नाति युद्धप्रताप जंग (नाति जर्नेल ) को समेत हत्या गरियो।

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q593609
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “रणोद्दीपसिंह कुँवर।” नेपाली विश्वकोश, २६ सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%B0%E0%A4%A3%E0%A5%8B%E0%A4%A6%E0%A5%8D%E0%A4%A6%E0%A5%80%E0%A4%AA%E0%A4%B8%E0%A4%BF%E0%A4%82%E0%A4%B9_%E0%A4%95%E0%A5%81%E0%A4%81%E0%A4%B5%E0%A4%B0। हेरिएको: १२ नोभेम्बर २०२६।