नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
समाज र जीवनशैली

माझी जाति

माझी जाति नेपालमा बसोवास गर्ने जातिहरू मध्यको एक जाति हो । माझी जाति छुट्टै भाषा, धर्म, संस्‍कार–संस्‍कृति, परम्‍परा भएका आदिवासि जनजाति हुन् । माझी जाति नेपाल सरकारद्वारा सूचिकृत ५९ आदिवासी जनजातिमध्ये एक हुन् । यस जाति खोला, कोशीको किनारमा बसोबास गर्ने, माछा मार्ने, डुंगा चलाउने, मर्चा बनाउने, खेतीपाती गरेर जीविकोपार्जन गर्ने जाति हुन् । यो जाति मूलतः सप्तकोशीका सहायक नदीहरूका छेउछाउ, मध्य तथा पूर्वी क्षेत्रका भित्रीमधेश र मधेशमा बसोबास गर्दछन् । हाल आएर तराईका सहनी, गोडी, मलाहा, थारू, दुषाद, हल्खोर, डुम, हाडी, मुसहर, भित्रिमधेशका बोटे, पश्चिम नेपालका केही खस क्षेत्री, रायमाझी इत्यादिले पनि

अद्यावधिक: २० सेप्टेम्बर २०२६ ४,२०७ शब्द · २३ मिनेट समीक्षा बाँकी
सम्पादन गर्नुहोस् इतिहास

माझी जाति नेपालमा बसोवास गर्ने जातिहरू मध्यको एक जाति हो । माझी जाति छुट्टै भाषा, धर्म, संस्‍कार–संस्‍कृति, परम्‍परा भएका आदिवासि जनजाति हुन् । माझी जाति नेपाल सरकारद्वारा सूचिकृत ५९ आदिवासी जनजातिमध्ये एक हुन् । यस जाति खोला, कोशीको किनारमा बसोबास गर्ने, माछा मार्ने, डुंगा चलाउने, मर्चा बनाउने, खेतीपाती गरेर जीविकोपार्जन गर्ने जाति हुन् । यो जाति मूलतः सप्तकोशीका सहायक नदीहरूका छेउछाउ, मध्य तथा पूर्वी क्षेत्रका भित्रीमधेश र मधेशमा बसोबास गर्दछन् । हाल आएर तराईका सहनी, गोडी, मलाहा, थारू, दुषाद, हल्खोर, डुम, हाडी, मुसहर, भित्रिमधेशका बोटे, पश्चिम नेपालका केही खस क्षेत्री, रायमाझी इत्यादिले पनि माझी लेखेका हुनाले वास्तविक माझी जातिको पहिचानमा संकटमा परेको छ । माझी जाति अतिसीमान्तकृत समूहमा पर्दछन् ।

नेपाल, भारत, भुटान तथा अन्य स्थानहरूमा माझी जाति छरिएर बसोबास गरिरहेका छन् । विशेषत उनीहरू हिन्दू धर्मावलम्बीहरू हुन् ।

अतिथि सत्कार

माझी जातिले जाँड, रक्सी, माछा, मासु खान मन पराउँछन् । पाहुनाको सत्कार जाँडले गर्दछन् र रक्सीले कम महत्व पाउँछ । पाहुनाको सत्कारमा पहिले जेठो मान्यजन र साइनोले प्राथमिकता पाउँछ । पाहुनामा सम्धीलाई विशेष सत्कार गर्दछन् । ज्वाइँलाई छोरो सरह मान्छन् र धेरै माया गर्छन् । घरमा आएका पाहुनालाई सर्वप्रथम वाहिर दलानमा राडी ओच्छ्याएर बस्न अनुरोध गर्दछन् । पाहुनालाई तमाखु, जाँड र भात खान दिन्छन् । पहिले तमाखु भरेर हुक्का सहित टक्र्याउँछन् । पाहुनाले हात जोडेर लिनुहोस् भने पछि मात्र आफैले पनि खान्छन् । तमाखु खादै गर्दा जाँडको व्यवस्था गरिन्छ । पाहुना घरभित्र बसेपछि पहिले जाँड, माछा मासु, अन्डाको सीतन दिन्छन् र खानेकुरा दिँदा नमस्कार गर्दछन्, त्यसपछि हात जोडेर खाने अनुरोध गर्दछन् । सम्धी आएका छन् भने भेट हुनासाथ हातमा कुनै कपडा वा रुमाल लिएर निहुरिएर रुमाल सहितको हातले भूँइमा छोएर उभिएर नमस्कार गर्दछन् । यो क्रम तीन पटक गर्दछन् । खाजाको रुपमा जाँड खाँदै गर्दा सञ्चो विसञ्चो सोधनी गर्छन् ।

पाहुनालाई खानेकुरा दिँदा जाँड, मासु र भात भए हुन्छ । विभिन्न प्रकारका तरकारी, अचार नहुँदा पनि हुन्छ तर मासु छैन भने पाहुनालाई सम्मान नगरेको ठहर्छ । धेरै जसो पाहुनाले लाज मानेर नअघाइकनै भो पुग्यो भन्ने भएकाले भो भन्दा पनि कर गरेर थपीथपी खान दिने चलन छ । खाइसकेपछि पाहुनालाई घरभित्रै चुठ्न लगाउँछन् । पाहुना विदा गर्ने बेलामा मीठो जाँड, निंगार, रक्सी खान दिइन्छ । यसलाई बाटोको लौरो भन्दछन् । विदा हुँदा पनि ढोगभेट गरेर मात्र पाहुना विदा हुन्छन्र ।

संस्कार

मुख्यतः जन्म संस्कार, न्वारन, पास्नी, छेवार, विवाह र मृत्यु संस्कार पर्दछ । यसका साथै सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर र सुनसरी, झापा, मोरङको मृत्युसंस्कारमा केही भिन्नता पाइन्छ ।

जन्म

गर्भवती अवस्थामा माझी महिलाले लास ल्याएको वा वाँधेको नहेर्नु हेरे बच्चाको घाँटीमा नाल बेरिन्छ भन्ने छ। यसैगरी बाघ भालु चितुवा आदिले मारेको कुनै जनावरको मासु नखानु, खाए सुत्दा निन्द्रामा बाघ जस्तो घुर्छ । हलोले जोतेको सियो ननाघ्नु नाघे सुत्केरी बेथा लामो हुन्छ। बच्चाको बाबुआमाले काटमार नगर्नु, सर्प नमार्नु, काटमार गरे सर्प मारे बच्चाको जिब्रो निकाल्ने बानी हुन्छ । इच्छा लागेका कुरा खानु नखाए बच्चाको याल काढ्ने बानी हुन्छ । ग्रहण लागेको नहेर्नु, पेट नकन्याउनु र हेरे कन्याय बच्चा खोडे हुन्छ । घोडा गाइवस्तु बाँधेको दाम्ला डोरी ननाघ्नु नाघे सालनाल झर्दैन वा ढिलो झर्छ । बाबर रोटी चोरेर नखानु खाए कान खोडे हुन्छ । खोर्सानी चोरेर खाए बच्चा बाठो हुन्छ भन्ने विश्वास राख्दछन् । दुईजीउकी महिलाले परदेश, भिरपहरा नजानु, रुख नचढ्नु, चर्को काम नगर्नु, गहुँगो भारी नबोक्नु, धेरै पिरो अमिलो नखानु पनि भनेर अऱ्हाउने चलन पनि छ।

गर्भवती महिलालाई सुत्केरी गराउँदा घरभित्र गराउनु पर्छ भन्ने मान्यता माझी समुदायमा छ । बच्चा जन्मिसकेपछि घरको ढोकाको सँघारमा एउटा कुखुरा काट्छन् । छोरो जन्मेमा भाले र छोरी जन्मेमा पोथी काट्छन् । कुखुरा काटेको देख्दा छोरा वा छोरी के जन्मियो भन्ने कुराको प्रष्ट जानकारी गराउँदछ । सुत्केरीलाई सुत्केरी भएकै दिनदेखि कुखुराको मासु, जाँड, रक्सी, घ्यू, ज्वानो खुब खान दिन्छन् ।

न्वारान

बच्चा जन्मेको तीन, पाँच, सात बिजोर दिन पारेर नामकरण वा न्वारान गर्दछन् । बच्चाको नाइटो नझरुन्जेल नवारान गर्नु हुँदैन । चाँडै न्वारान गर्नु छ भने नाइटो चाँडो झार्नको लागि सुत्केरीलाई खुवाउन पकाएको कुखुराको मासुको झोल हाली नाइटो झार्ने प्रयास गर्दछन् । न्वारान गर्ने दिन घर लिपपोत गरी सुडेनी, सुत्केरी र बच्चालाई नुहाइधुवाई गर्दछन् । गाउँका मिझार, गौरुड, सुडेनी बोलाउँदछन् । कुनै ठाउँमा मिझार गौरुङले र कुनै ठाउँमा सुडेनीले बच्चाको नाम जुराईदिन्छ वा राखिदिन्छ । नाम राख्दा कुन दिन, बार, ठाउँ, अवस्थामा जन्मेको हो सोही दिनको बार अवस्थाको पहिलो अक्षर राखेर नाम राख्दछन् । न्वारानको दिन बच्चालाई नुहाउँदा गाइको दूध, भलायोको ठेला, सिंगी, काटी, बागी माछाको काँडा अरिङगाल, बच्छयुँ, बारुलो, धारे, सिस्नो, अल्लो पनि डढाई धुवाँ दिदा ती माछाले

घोच्छा, अरिङ्गाल बच्छयूले चिल्दा विष नलाग्ने, सिस्नो अल्लोले नपोल्ने हुन्छ भन्ने माझी जातिको विश्वास पाइन्छ । न्वारानमा बाबु, बाजे वा काका साक्षी राखी ज्वाई चेला, भान्जा भान्जी, कुटुम्बले सुत्केरीलाई गहुँत, तेल खान र लाउन दिन्छन् । गउत सुत्केरी बसेको ठाउँ, भँडार चोटोकोठा, फूल विरुवामापनि छर्दछन् । यसलाई गहुँत छर्ने वा चोख्याउने पनि भन्दछन् । कसैले न्वारानको दिनदेखि नै पानी छुन्छन् भने कसैले १५ दिनसम्म पानी बार्छन् । सुत्केरी नचोख्याइ कुनै पनि शुभ, अशुभ काम गर्दैनन् । यो नगरुन्जेल कुलपितृ, देवीदेवतामा चल्दैन भन्नेछ । जाँड, मासु, भात अन्य विभिन्न खाद्यपदार्थहरु बनाई बुढापाका र सुडेनीलाई खुवाउनुपर्छ साथै सुडेनीलाई गुन्युचोलो (एकसरो कपडा) दिने गर्दछन् ।

माझी जातिमा बच्चा आइतबार जन्मे आइते, आइतवीर, आइती, सोमबार जन्मे सोमे, सोमी, मंगलवार जन्मे मंगले, मंगलमान, मंगली, बुधवार जन्मे बुधे, बुधवीर, बुधमाया, बिहीबार भए बिर्देउ, बीरसे, बीरमान, शुक्रवार भए शुक्रे, शुक्रवीर, सुकमाया, शनिवार भए संसरे, सन्ते, सन्ती नाम राखिन्छ । यसै गरी माइतमा जन्मेको भए माइते, माइती, बाटोमा भए बाटुले, बाटुली इत्यादी ।

पास्नी

बच्चालाई पहिलो पटक भात खुवाइ दिने कर्मलाई 'पास्नी' भन्दछन् । छोरो भए ६ महिना छोरी भए ५ महिनामा पास्नी गर्दछन् । जाँड, रक्सी, माछा, मासु, अण्डा, दही, दूध, घ्यू, मह दालभात अन्य विभिन्न खाद्यसामग्री तयार पार्दछन् । दियो बत्ती बाली कलस थाप्दछन् । कलसको पानीले अभिषेक गरी दही अक्षताको टीका लगाइ धेरै आशिष पनि दिन्छन् । पास्नीमा मावली, दाजुभाइ, नातागोता, इष्टमित्र पनि बोलाइ भात खुवाउँछन् । घरको सबैभन्दा जेठोले पहिले खुवाउँछन् टिका लगाई दिंदा “ आजदेखि मनुष्य भइस् पाथीको भात खानु सक्ने, धार्नीको कोदालो चलाउनु सक्ने हुनु, विसासय आयु होस्” भन्ने खालका आशिष दिएर टीका लगाइदिन्छन् । सबैले भात खुवाइ टिका लगाइए दक्षिणा कपडा दिने पनि चलन छ । निम्तालु सबैलाई जाँड, रक्सी, माछा, मासुसमेत खान दिने, नाचगान गर्ने पनि कसै कसैले गर्छन् । भात नखुवाउँदै मर्यो भने सराद गर्दैनन् सुध्याईमा नै सरात गर्नु नपर्ने गरी खोला कोशीमा सेलाउँछन् । भात खुवाइ सकेको छ भने सुध्याई मात्र गरेर हुँदैन, सराद पनि गर्नुपर्छ । बच्चाको ८ महिनामा दाँत उम्रियो दाँत उम्रेको बच्चालाई मामाले घरको भित्ता प्वाल पारेर हात छिराइ काँसको भाँडा डवकामा दूध भात खुवाइ टीका लगाइदिइ बडका वा कचौरासहित दक्षिणा दिएपछि दोष लाग्दैन मुख हेर्नुहुन्छ भन्ने माझी जातिको विश्वास रहेको छ।

छेवर

पहिलो पटक कपाल काट्नुलाई 'छेवर' भन्दछन् । छेवरमा कपाल काटी दिनका लागि मामा अनिवार्य चाहिन्छ । आफ्नो मामा छैन भने अन्य नाता साइनोको भएपनि मामा बनाइ उनीबाटै कपाल काटिन्छ । गाईको थलो लिपपोत गरी नयाँ किलो, दाम्लो, हरियो सालको पातको टपरी तयार पार्दछन् । दाम्लाले घाँटीमा बाँधेर मामाले भान्जाको कपाल काट्दै टपरीमा राख्छन् ।

विवाह

माझी जातिहरुमा मागी, चोरी, जारी, विधवा, अन्तरजातीय र जबरजस्तीसमेत गरी छ प्रकारको विवाहको प्रचलन चलेको इतिहास भेटिन्छ । आधुनिकता सँगै यस जातिमा समेत विवाह र संस्कार जन्य अन्य क्रियाकलापहरूमा अन्य जातजातिहरूको अनुसरण भएको पाइन्छ ।

मागी विवाह

माझी जातिहरुमा मागी, चोरी, जारी, विधवा, अन्तरजातीय र जबरजस्तीसमेत गरी छ प्रकारको विवाहको प्रचलन चलेको इतिहास भेटिन्छ । आधुनिकता सँगै यस जातिमा समेत विवाह र संस्कार जन्य अन्य क्रियाकलापहरूमा अन्य जातजातिहरूको अनुसरण भएको पाइन्छ ।

चाडपर्व

कोशी (लदी) पूजा माझी जातिको महान पर्व हो । दसैै, तिहार जस्ता नेपालीहरूले मनाउने पर्व पनि धेरैजसो माझी जातिहरूले मनाउँछन्, माझी जति प्रकृतिको पूजा गर्छन । गोठ पूजा पनि गर्ने गर्छन् । संस्कृति र परम्पराको संरक्षण गर्न विभिन्न पूजाको चलन पनि चलाउँदै आएका छन् । वर्षेनी हुने पूजा होस् वा श्राद्ध, माझीहरूको आफ्नै छुट्टै मौलिकता छ । यस्तो मौलिक अभ्यास नयाँ पुस्तामा सकुशल हस्तान्तरण गर्न उपायहरूको खोजी गरिरहेका छन् ।

कोशी (लदी) पूजा

कोसी पूजा अर्थात लदि पूजा नेपालमा बसोबास गर्ने समस्त माझी जातिको प्रमुख चाड हो । कोसी पूजा भन्नाले खोला, नदी अथवा पानीलाई गरिने पूजालाई जनाउँछ । यो पर्व प्रत्येक वर्ष फाल्गुण महिनाको तेस्रो मङ्गलबार मनाउने गरिन्छ । यो पर्वको दिन सबै मानिसहरूले नुहाउने, घर लिप-पोत गरी सफा राख्ने गरिन्छ । त्यसपछि आ-आफनो घरबाट नजिकको खोलामा सबै मानिसहरू भेला भई समूहमा यो पर्व मनाउने गरिन्छ । यो दिनमा नदिलाई विशेष रूपले पूजा गरिन्छ। पूजामा विशेष बिधिबाट तयार गरिएको थानमा सुँगुर, भैंसी, कुखुरा, हाँस र परेवा गरि पाँच प्रकार जीवको बलि चढाउने गरिन्छ; जसलाई पञ्चबलि पनि भनिन्छ । यो पञ्चबलिको साथ थानमा फुल-अक्षता र भेटी आदि चढाइ मन्त्र वा विधिद्वार पूजाआजा गरिन्छ । यो दिनमा आफ्ना आफन्तहरू बिच शुभकामना आदानप्रदान पनि गर्ने गरिन्छ । साथै यो दिन नाचेर, गाएर खुसी साटासाट गर्ने, रमाइलो गर्ने गरिन्छ ।

बैसाखे पूर्णे

वैशाखे पूर्णेमा वायुको पूजा गर्ने भएकोले यसलाई वायुपूजा पनि भन्दछन् । मरेका पूर्खा पितृहरुलाई थान लगाई राख्दछन् । यसलाई वायु भन्दछन् । कसैले वर्षमा दुई पटक कसैले एकपटक वायु पूजा गर्दछन् । वायू पूजा गर्दा पुरुष वायुलाई भाले र महिलावायु भए पोथी कुखुरा बली चढाउँछन् । यो पूजाको प्रसाद कुनैपनि जातजातिले खानहुन्छ । यसलाई अन्य पितृकार्यको जस्तो प्रसाद कुनैपनि जातजातिले खानहुन्छ । यसलाई अन्य पितृकार्यको जस्तो प्रसाद मान्दैनन् । वायुको माटोको धुपौरो, पानस, घन्टी सफा गर्दछन् । अक्षेता, कपडा फेर्दछन् । यो पूजा गर्दा पूर्खा पितृहरु खुशी हुन्छन् भन्ने छ । घरमा कुनै दुःख विमार हुँदैन । अन्न पानीको सह हुन्छ । शुभ्य फाप्य हुन्छ भन्ने माझी समुदाय मान्यता राख्दछन् । यो पूजामा चेलीबेटी, ज्वाइँचेला बोलाउँछन् । कसैकसैले खानपिन गराई टिका लगाई दक्षिणा दिने पनि गर्दछन् ।

संसारी पूजा

संसारी पूजा जेठमा शनिवार पारेर गरिने सामुहिक पूजा हो । कसैकसैले व्यक्तिगत रुपमा पनि गर्दछन् । सामुहिक गर्दा प्रत्येक घरबाट पैसा उठाई पाठी किन्छन् । पूजाको दिन प्रत्येक घरबाट, अक्षेता, धुप, भेटी, सुपारी एकैठाउँमा जम्मा पार्दछन् । गाउँको नजिक अग्लो डाँडामा देवता स्थापना गरी चामलको पिठोको रेखी हाली, धुपबत्ति बाली पुजारीले लौ परमेश्वरी संसारी माई, देसान- मसान हटाईदिनु, महामारी, हैजा, बिफर, ठेउला, खुरेत जस्ता रोगव्याधि आउन नदेउ, समय-समयमा पानी पारिदेऊ, गाउँको रक्षा गरिदेउ इत्यादि भन्दै बल पुकारा गरेर पाठी बली चढाउँछन् । बली चढाएको पाठीको मासु वा कुनै अक्षता, पाती गाउँघरमा ल्याउँदैनन् । बली चढाएको पाठी, परेवाको मासु प्रत्येक प्रसादको रुपमा सबैले खान्छन् । यो प्रसाद खान नछुने भैसकेका महिला जाँदैनन् । यो पूजा गाउँबाट कुनै खोला वा खोल्सा कटाएर गर्दछन् । प्रसाद पनि खोला, खोल्सा कटाएर ल्याउनु हुँदैन भन्दछन् ।

व्यक्तिगत रुपले यो पूजा गर्दा कुनै चोखो ठाउँमा लिपपोत अथवा खोचो पारी देवता स्थापना गरी धुप, बत्ती बाली, अक्षतापाती चढाई, पोथी कुखुरा बली चढाउँछन् । बली चढाएको कुराको मासु घरमा ल्याउँदैनन् । उपयुक्त ठाउँमा भात, मासु पकाई, घरका सबै परिवारले खान्छन् । यो प्रसाद खानमा महिलालाई प्रतिबन्ध छैन । पकाउन, खान प्रयोग गरेको भाँडा सफा नगरी घरमा ल्याउँदैनन्, ल्याए अनिष्ट हुन्छ भन्ने मान्यता राख्दछन् ।

आइतबारे

आइतबारे पूजा जेठ, असारमा आइतबार पारेर गर्दछन् । आइतबारे झाँक्री, झाँक्रेनीको स्थान गाउँको नजिकै पहरा वा चोखो ठाउँमा बनाउँछन् । झाँक्रीलाई भाले र झाँक्रेनीलाई पोथी कुखुरा पनि चढाउँछन् । धूप, बत्ती, अक्षेता र कोदोको पिठोको घिउ-तेलमा पकाएको बाबर चढाउँछन् । आइतबारेलाई वस्तुभाउको गोठालोको रुपमा पूजा गर्दछन् । पूजारीले वनजंगलको तष्कर, बाघ, भालु र भीर, पहराबाट वस्तुभाउ जोगाइदेउ इत्यादि भनेर बल पुकार माग्दछन् । बली चढाएको कुखुराको पोलेको कलेजो, कोदोको बाबररोटी, जाँड प्रसादको रुपमा त्यहाँ गएका सबैले खान्छन् ।

साउने संक्रान्ति

साउने संक्रान्तिलाई लुतो फाल्ने संक्रान्तिका रुपमा मान्दछन् र जेठो चाड पनि भन्दछन् । अन्य साधारण चाडमा जस्तै राँगा, भैंसी, सुँगुर काट्दछन् । यस समयमा खेत रोपाईको चर्को काम भएपनि एकदिन केही आराम गरेर संक्रान्ति मनाउँछन् । बेलुका साँझमा लुतो फाल्ने गर्दछन् । लुतो फाल्दा भलायोको पात, कुकुरडाइनो, कुरीलो, ढोकामाथि घुसारेर राख्छन्. । यसो गर्दा घरभित्र भूत, प्रेत, देसान, मसान पस्दैन भन्ने मान्यता राख्दछन् । नाङ्गलो उठाउदै अनिकाल जा, सहाल आइज भन्दै ठूलोठूलो स्वरले कराउँदै वारिकाले पारिकालाई, पारिकाले वारिकालाई, वल्लो गाउँकाले पल्लौ गाउँकालाई, पल्लो गाउँकाले वल्लो गाउँकालाई मेरो लुतो लिन आइज भनेर अगुल्टो फ्याँक्छन् । यसो गर्दा वर्षभरि लुतो आउँदैन भन्ने हो।

यस चाडलाई दशैं जस्तै ठूलो चाडको रुपमा पनि लिन्छन् । माझी बुढापाकाहरु बाच्नेको दशैं मर्नेको साउने संक्रान्ति भन्दछन् । यो भनाईमा मूल कुरो के छ भने विशेष गरेर श्रावण भाद्रमा विभिन्न प्रकारका महामारी रोगबाट धेरै मानिस मर्ने गर्दछन् । श्रावण र भाद्रमा महामारी रोगबाट बाँचियो भने मात्र असोजमा दशैं मनाउन पाइने भएकोले मर्नेको लागि ठूलो चाड साउने संक्रान्तिलाई मानेका हुन । यो चाडमा बेलुका विशेष खानपिनको व्यवस्था गरिने भएकोले केटाकेटीहरु चाँडै सुत्न लागेभने आज राति देउताले जोख्छन्, जोख्दा धार्नी पुगेन भने मरिन्छ, धार्नी पुग्यो भने बाँचिन्छ | नखाईकन सुत्यो भने धार्नी पुग्दैन भनेर बच्चाहरुलाई समेत खानपिन गराएर मात्र सुत्न दिन्छन् । यस चाडमा ज्वाइँचेला, चेलीबेटीलाई बोलाउने, ख्वाउने चलन अझै छ । श्रावण महिनाभरि देवताहरु गुफा बस्दछन् वा पाताल जान्छन् भन्ने माझी जातिहरुको विश्वास भएकोले अन्य कुनै पनि देवीदेवताको पूजाआजा गर्दैनन् भने धामीहरु साधारण झारफुक मात्र गर्दछन् चिन्ता बस्ने काम गर्दैनन् ।

दशैं

दशैं अशोज महिनामा पर्दछ । नेपालमा बसोवास गर्ने विभिन्न धर्मालम्विहरु मध्ये हिन्दूहरुको मुख्य चाड दशैं हो । अन्य जातले जस्तो औंसीमा जमरा राख्ने, नौ दिनसम्म पूजापाठ गर्ने, जमरामा बली चढाउने गर्दैनन् । अरुभन्दा आफूलाई विशेष सम्झिने कसैकसैले जमरा राख्न थालेका छन् । रामेछाप चिसापानीका १०२ वर्षिय मिझार पाइते माझीका भनाई अनुसार ७५ / ८० वर्ष पहिलेदेखि भटौली र खिम्तीमा सबभन्दा पहिले दशैको टिका लगाउन शुरु गरेका हुन । दशैंमा रातो टिका लगाउन चाहिँ २०२५ सालको दशैंदेखि हो । अझै पनि सबै माझी गाउँमा दशैंको टिका लगाउँदैनन् । हिन्दू संस्कारको सिको गरी अहिले माझीहरुले यसप्रकारले दशैं मनाउन थालेका छन्।

जमरा राख्ने औंसीपछि कसैले कमेरो, कसैले रातोमाटोले घर लिपपोत अथवा सिँगार्ने गर्दछन् । दशैंमा घर सिँगारपटार गरेको छैन भने त्यो घरमा जुठो परेको रहेछ भन्ने जनाउँछ । घर सिँगार्नुलाई घर चोख्याउनु पनि भन्दछन् । अप्ठेरो र अग्लो ठाउँमा पुरुषहरुले र सजिलो ठाउँमा महिलाहरुले लीपपोत गर्दछन् । कमेरो लगाएकोमा तलबाट रातोमाटोले लिप्छन् । यसलाई कन्दनी लगाएको भन्दछन् । रातो माटो लगाएकोमा कसैकसैले कालो रँगको कन्दनी लगाउँछन् । घरको झ्यालढोकामा सालको बोक्रा पकाएर त्यसबाट निस्किने रँग लगाउँछन् भने खट्प्वाल, खोपामा विभिन्न रँगले अनेक प्रकारका बुट्टा पनि बनाउँछन् ।

फूलपातीको दिन दशैंमा सराद गर्नेहरुले पानी राख्ने वा पितृ भुलाउन भन्दछन् । यस विषयमा बढी चर्चा मृत्यु संस्कारमा उल्लेख गरिएको छ । सोऱ्ह सरादमा सराद गर्नेले फूलपातीको दिन विहान विभन्न प्रकारका देवीदेवतालाई भाकल, निम, कुखुरा, पाठी, हाँस बली चढाउँछन् । दिउँसो गाउँका सबैलाई कसलाई के कतिको मासु चाहिने हो त्यसको लागि पहिले नै जोहो गरी राखेको राँगा, भैसीं, सुँगुर काटेर भागबन्डा गर्दछन् । परिवारमा कोही परदेश गएको छ भने पनि त्यसको समेत भाग लगाएर जाँड, रक्सी, मासु, भात खान्छन् । अष्टमी र नवमीको दिन अहिले अन्य जातजातिको सिको गरेर आ-आफ्नो घरमा पनि खसी, सुँगुर, राँगा काट्ने गरेका छन् भने गाउँका सबैलाई आवश्यकता अनुसार राँगा, भैंसी, सुँगुर काट्छन् । युवायुवतीहरु नाचगानसहित लिँगो, चर्खे पिंग हालेर खेल्छन् । खानपिनबोहक कुनै पूजाआजा गर्दैनन् । दशमी अथवा टिकाको दिन राजाले टिका लगाउने साइत पारेर दही, अक्षताको टिका लगाउँछन् । टिका लगाउँदा बुढापाकाले श्री ५ को टिको, श्री ५ कौ प्रताप र कुलपितृको शक्तिले दुबो मौलाएको जस्तो मौलाउनु, वरपिपल तपे जस्तो तप्नु सन्तानले डाँडाकाँडा ढाकुन् नाम चलाएर खानु, दिइ खाने हुनु, सबैको आसा पुऱ्याइदिने हुनु, मिझारको ज्वाइँ वा बुहारी हुनु जस्ता आशिष दिन्थे ।

तिहार

तिहार कार्तिक महिनामा मनाउँदछन् । माझी समुदायको तिहार पनि दशैंजस्तै पछि मात्र मनाउन थालेका हुन् । तिहारमा भैलो, देउसी खेल्ने चलन भने धेरै पुरानो हो । देउसी, भैली औंसीदेखि एकादशीसम्म खेल्दछन् । देउसी खेल्दा माझी गाउँमा भट्याएर देउसीरे भन्ने र ख्याली, विभिन्न भ्याउरे, चुट्का गीत गाएर नाचगान गर्दछन् भने अन्य जातजातिको गाउँघरमा ख्याली, विभिन्न झ्याउरे, चुट्का र सरादमा गाइने भाकाले गीत गाएर ढोल, मादल, झ्याली बजाएर नाचगान गर्दछन् । भाकाले गीत गाएर ढोल, मादल, भ्याली बजाएर नाचगान गर्दछन् । यसरी देउसी, भैलो खेलेर प्राप्त भएको पैसा अन्नले पहिलेपहिले वनभोज खाने गर्दथे भने अहिले सामाजिक काम गर्ने गर्दछन् । पहिलेपहिले जस्तो एकादशीसम्म देउसी, भैलो खेल्ने छोडेका छन् । भैलो खेलेर घर आउनेदिन पितृ बगाएको जस्तै गरेर खौला समेत बगाउँछन् ।

यो पनि हेर्नुहोस

सन्दर्भ सामग्रीहरू

स्रोत र समीक्षाको अवस्था

स्रोत: सम्पादकीय लेख · विकिडाटा Q124245847
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ६४/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)

नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।

यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।

यो लेख उद्धृत गर्नुहोस्

नेपाली विश्वकोशका सम्पादकहरू। “माझी जाति।” नेपाली विश्वकोश, २० सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%AE%E0%A4%BE%E0%A4%9D%E0%A5%80_%E0%A4%9C%E0%A4%BE%E0%A4%A4%E0%A4%BF। हेरिएको: १२ नोभेम्बर २०२६।